नेपाल–भारतका नागरिकले एउटै घाटमा मनाउँदै छठ, बिग्ही नदी किनारमा दुई किलोमिटर लामो घाट तयार
महोत्तरी,कात्तिक २७ । महोत्तरीको मटिहानी नगरपालिकास्थित बिग्ही नदी किनारमा नेपाल र भारतका नागरिकले संयुक्त रूपमा छठ पर्व मनाउन झण्डै दुई किलोमिटर लामो छठ घाट तयार गरेका छन् । सांस्कृतिक परम्परा र आपसी सद्भावले दुई देशका नागरिकलाई जोड्दै आएको यो घाट सीमापार सम्बन्धको उदाहरण बनेको छ ।
बिग्ही नदीको दुवै किनारमा निर्माण गरिएको उक्त संयुक्त छठ घाटमा नेपालतर्फ महोत्तरीको मटिहानी र धनुषाको तुलसीयाही तथा भारततर्फ मधवापुर र रामपुरका व्रतालुहरूले छठ पर्व मनाउने गरेका छन् ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले सांस्कृतिक परम्पराले एक सूत्रमा बाँधिएका दुवै देशका नागरिकले आपसी हेलमेलसहित पर्व मनाउने गरेको बताउनुभयो । उहाँका अनुसार घाट निर्माणमा हुने खर्चमा पनि दुवै देशका नागरिकको समान सहभागिता रहने गरेको छ ।
“सीमाले दुई देश छुट्याए पनि दुवै देशका सांस्कृतिक सम्बन्ध प्रगाढ छन् । छठ नेपाल र भारतका नागरिकले एउटै घाटमा मनाउने संस्कृति हामीले बसालेका छौँ”, नगरप्रमुख मण्डलले भन्नुभयो, “यो आपसी प्रगाढ सम्बन्धको अनुपम दृष्टान्त हो ।”
भारतको मधुवनी जिल्लास्थित मधवापुर ग्रामपञ्चायतका सरपञ्च बलराम झाले राष्ट्रियता छुट्टिए पनि दुवै देशका भाषा, संस्कृति, परम्परा र चाडबाड साझा रहेको बताउनुभयो ।
नेपाली भाषामै बोल्दै झाले भन्नुभयो, “दशगजाले हाम्रो राष्ट्रियता छुट्याएको छ, तर हाम्रा भाषा, संस्कृति, परम्परा र चाडबाड साझा छन् ।” उहाँले मानवीय संवेदना र सांस्कृतिक परम्पराका विषयमा नेपाली र भारतीय भनेर छुट्याउने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दाले केही वर्षयता बिग्ही नदी किनारमा एउटै घाटमा छठ पर्व मनाउँदै आएका छन् । यसले दुई देशका नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै आपसी दुःखसुखमा समेत साथ दिने संस्कृतिको विकास गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णले बताउनुभयो ।
संयुक्त छठ घाटमा दुवै देशका कलाकर्मीले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्दै आएका छन् । सीमापारिका नागरिकबीच सांस्कृतिक अन्तर्घुलन र आपसी सद्भाव अभिवृद्धि गर्ने अवसरका रूपमा छठ पर्व स्थापित हुँदै गएको स्थानीय बताउँछन् ।
चार दिनसम्म मनाइने महापर्व छठ यस वर्ष आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको छ । शनिबार खरना, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने सझिया घाट तथा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पारन गर्ने विधिसँगै पर्व सम्पन्न हुनेछ ।

