त्रिविको शैक्षिक गुणस्तर र परीक्षा प्रणाली सुधारमा मन्त्रालयको जोड



काठमाडौं,कात्तिक २७। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भएको छ ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिविको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन, पठनपाठन प्रभावकारी बनाउने तथा विद्यार्थी कोटा निर्धारणलाई शैक्षिक क्षमतामा आधारित बनाउने विषयमा जोड दिइएको हो ।

छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, शिक्षाध्यक्ष प्राडा अञ्जना सिंह, रजिस्ट्रार सहप्राडा रविन्द्र शिवाकोटी, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका डीनहरूको सहभागिता रहेको थियो ।

बैठकमा नयाँ शैक्षिक कार्यक्रम सञ्चालन तथा सम्बन्धन वितरणलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउनुपर्ने, उच्च शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विद्युतीय हाजिरी प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सम्बन्धन वितरणमा सङ्ख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

त्रिविबाट सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य हुनुपर्ने उहाँको भनाइ थियो । क्याम्पसको दीगोपना र शैक्षिक गुणस्तर कायम गर्न विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

झाले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजहरूलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने तथा शैक्षिक सत्र व्यवस्थित बनाउनुपर्ने धारणा राख्नुभयो । साथै, विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको तथा नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराइएको थियो ।

त्रिविका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपालको उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताउनुभयो । यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उहाँले जानकारी दिनुभयो ।

शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्न तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्