मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा पदबाट राजीनामा



जनकपुरधाम,कात्तिक २८ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत प्राप्त नहुने देखिएपछि उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

पदभन्दा जनताको सेवा र विश्वास ठूलो भएकाले राजीनामा दिएको मुख्यमन्त्री यादवले बताएका छन्।

सत्ता साझेदार नेकपा (एमाले) ले गत असोज ३० गते आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो। त्यसपछि गत कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीले पनि सरकारबाट समर्थन फिर्ता लिएपछि उनको नेतृत्वको सरकार थप सङ्कटमा परेको थियो।

१०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो। तर, सरकारको पक्षमा आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि उनले राजीनामा दिएका हुन्।

हाल प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, एमालेका २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।

गत कात्तिक २० गते जसपा नेपाल, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने प्रयास भएको थियो। जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने तयारीस्वरूप नेपाली कम्युनिस्ट पार्टी पनि सरकारबाट बाहिरिएको थियो। तर, जसपा नेपालभित्रै मुख्यमन्त्री बन्ने विषयमा मतभेद देखिएपछि नयाँ सत्ता समीकरणले अन्तिम रूप लिन सकेको छैन।

एमाले र नेपाली कम्युनिस्ट पार्टी भने जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न लचक देखिएका छन्। यता जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भने अब बन्ने सरकारमा सहभागी नहुने घोषणा गरिसकेका छन्।

मुख्यमन्त्री यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्