बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना



काठमाडौं,कात्तिक २८ । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ। भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले दक्षिणपूर्वी बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै सोमबार साँझसम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने जनाएको छ।

विभागका अनुसार शुक्रबार बिहान साढे ५ बजे दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र बनेको थियो। उक्त प्रणाली शुक्रबार बिहान साढे ८ बजेसम्म पनि सोही क्षेत्रमा सक्रिय रहेको थियो।

मौसम विभागले उक्त प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरेको छ। यो प्रणाली शनिबारसम्म गहिरो न्यून चापीय क्षेत्रमा परिणत हुन सक्नेछ भने आइतबार बिहानसम्म थप विकसित भएर न्यून चापीय क्षेत्रबाट न्यून चापीय प्रणाली (डिप्रेसन) बन्ने अनुमान गरिएको छ।

त्यसपछि सोमबार साँझसम्म मध्य बंगालको खाडीमा चक्रवाती आँधीको रूप लिन सक्ने विभागको पूर्वानुमान छ।

मध्य अण्डमान सागर तथा आसपासको अण्डमान–निकोबार द्वीपसमूहमाथि विकसित वायुमण्डलीय प्रणालीका कारण बंगालको खाडीमा यस्तो मौसमी गतिविधि देखिएको मौसम विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्