तिहार र छठको बिदामा घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, आवास पाउनै मुस्किल
गण्डकी,कात्तिक २८। तिहार र छठ पर्वको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्। आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा बढेपछि यहाँका होटल तथा घरबासमा पाहुनाको चाप बढेको छ। अग्रिम बुकिङ नगरी पुग्ने पर्यटकलाई आवास पाउनसमेत कठिन भएको छ।
अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको चहलपहल बढेको हो। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक गाउँ पुगिरहेका छन्। होटलमा कोठा पाउन कठिन भएपछि समितिले अग्रिम बुकिङ गरेर मात्र भ्रमणमा आउन आग्रह गरेको छ।
घान्द्रुकमा अधिकांश आन्तरिक पर्यटक पुग्ने गरेका छन् भने भारतीय तथा अन्य मुलुकका पर्यटकको आगमन पनि भइरहेको छ। अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृश्य, गुरुङ समुदायको मौलिक संस्कृति र गाउँले परिवेश यहाँका मुख्य आकर्षण हुन्। गाउँमा रिसोर्टसहित ८० होटल र ३५ घरबास सञ्चालनमा छन्।
मादी गाउँपालिका–१ स्थित सिक्लेसमा पनि पर्यटकको चाप बढेको छ। तिहारको भोलिपल्ट मात्रै एक हजार तीन सय २४ जना पर्यटक सिक्लेस पुगेका थिए। होटल व्यवसायीका अनुसार धेरैजसो होटल आइतबारसम्मका लागि अग्रिम बुकिङ भइसकेका छन्। पर्यटकको चाप बढेपछि नयाँ पाहुनालाई कोठा उपलब्ध गराउन कठिन भएको छ।
गुरुङ संस्कृति, मौलिक घर, ढुङ्गे आँगन, साँघुरा गल्ली र हिमाली दृश्यका कारण सिक्लेस पर्यटकको आकर्षक गन्तव्य बनेको छ। गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क तथा स्थानीय परिकार यहाँका थप आकर्षण हुन्। सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पदयात्राका लागि पुग्ने पर्यटकको सङ्ख्यासमेत बढेको छ।
यसैगरी माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँमा पनि पर्यटकको आगमन बढेको छ। तिहारको भोलिपल्टदेखि होटल र घरबास पाहुनाले भरिएपछि व्यवस्थापनमा कठिनाइ भएको स्थानीय व्यवसायीले बताएका छन्।
विसं २०६७ मा सात घरबाट सुरु भएको ल्वाङको घरबास व्यवसाय अहिले २६ घरमा विस्तार भएको छ। यहाँ एकै रातमा चार सयसम्म पाहुनालाई आवास उपलब्ध गराउन सकिने क्षमता छ। समुद्र सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको ल्वाङबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलामा देखिने सूर्योदयको दृश्य पर्यटकका लागि विशेष आकर्षण हो।
गाउँको सिरानमा फैलिएको एक हजार दुई सय रोपनी क्षेत्रफलको चियाबारी, गुरुङ संस्कृति, रैथाने परिकार र स्थानीय जीवनशैलीले ल्वाङलाई लोकप्रिय पर्यटकीय गन्तव्य बनाएको छ। पर्यटकले यहाँ स्थानीय परिकार बनाउने तरिका, खेतीपाती तथा निगालोबाट डोको र सेखु बनाउने सीपसमेत अवलोकन गर्न पाउँछन्।
पोखराबाट सडकमार्ग हुँदै सहजै पुग्न सकिने घान्द्रुक, सिक्लेस र ल्वाङ प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, पदयात्रा र घरबासको अनुभव लिन चाहने पर्यटकको रोजाइमा पर्दै आएका छन्। पर्वको बिदामा बढेको पर्यटक आगमनले स्थानीय पर्यटन व्यवसायमा उत्साह थपेको छ। तर, पर्यटकको चापअनुसार आवास व्यवस्थापन र पर्याप्त कोठा उपलब्ध गराउनु चुनौती बनेको छ।

