बर्दियामा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते
बर्दिया, कात्तिक २८ । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा यात्रुवाहक मिनिबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
आज दिउँसो करिब १ः४० बजे गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिफोर्स बस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (CHO1CM9437) एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ घर भएका ३४ वर्षीय हुकुम बहादुर खत्री र मोटरसाइकलको पछाडि सवार नामथर तथा वतन नखुलेका अन्दाजी ५५ देखि ६० वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल गुलरिया पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । हुकुम बहादुरलाई दिउँसो २ः१३ बजे र अर्का पुरुषलाई २ः०९ बजे मृत घोषणा गरिएको थियो ।
दुर्घटनामा बस चालकसहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । घाइतेहरू बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचाररत छन् । मध्यम अवस्था रहेका केही घाइतेलाई थप उपचारका लागि नेपालगञ्जस्थित अस्पतालमा रिफर गरिएको छ ।
घाइतेमध्ये गुलरिया नगरपालिका–१० कालाबञ्जरा निवासी १९ वर्षीया अर्धना पाठक, १५ वर्षीया अनन्य पाठक, बाँकेको कोहलपुर नगरपालिका–११ निवासी २३ वर्षीया अञ्जली घिमिरे, दाङको तुलसीपुर–१२ निवासी २७ वर्षीया लक्ष्मी बि.क. र चार वर्षीय अन्मोल बि.क. सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।
दुर्घटनामा बर्दिया, बाँके र दाङका यात्रु घाइते भएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
सम्पादकीय नोट: उपलब्ध विवरणमा घाइतेको सूचीमा क्रम सङ्ख्या १५ छुटेको छ। विवरणमा उल्लेखित १५ जना घाइतेको सङ्ख्या र नामहरू समाचारमा समेटिएका छन्।

