गगन पक्षको कांग्रेस आत्मा मरेको कांग्रेस : डा. महत
नुवाकोट,कात्तिक २८ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले गगन थापा नेतृत्वको कांग्रेसमा आत्मा नभएको टिप्पणी गरेका छन्। उनले गगन पक्षको कांग्रेस भद्रगोल र अराजकतामा फसेको आरोप लगाउँदै पार्टीको विधि र विधानअनुसार नियमित महाधिवेशन पक्ष नै सही ठाउँमा रहेको दाबी गरेका छन्।
शनिबार नुवाकोटको चौघडामा नेपाली कांग्रेस नुवाकोटको नियमित महाधिवेशन पक्षअन्तर्गत क्षेत्र नम्बर–१ को क्षेत्रीय अधिवेशनमा मन्तव्य राख्दै नेता महतले नुवाकोट कांग्रेसका १ र २ क्षेत्रमा नियमित महाधिवेशन पक्षको वर्चस्व रहेको बताएका हुन्।
उनले विधि र विधानको सिद्धान्तले आफूहरू सही ठाउँमा रहेको उल्लेख गर्दै भदौ २३ र २४ गतेका घटनाको प्रभावमा परेर गगन थापा पक्ष अघि बढेको आरोप लगाए। पार्टी सभापति शेरबहादुर देउवामाथि आक्रमण हुँदा दुःख नलाग्ने हो? भन्दै उनले पार्टी नेतृत्वमाथिको आक्रमणप्रति असन्तुष्टि व्यक्त गरे।
डा. महतले गगन थापा पक्ष लोकतन्त्र र पार्टीको विचारलाई कमजोर पार्ने दिशामा लागेको आरोप लगाउँदै गगन नेतृत्वको कांग्रेसमा आत्मा नरहेको जिकिर गरे। उनले पार्टीभित्र भद्रगोल र अराजकता सिर्जना भएको टिप्पणीसमेत गरे।
‘जहाँ आत्मा छ, त्यसले नै रूख चिह्न प्राप्त गर्छ, त्यो हामीले पाउँछौँ,’ महतले भने। उनले पार्टीको आधिकारिकता र चुनाव चिह्न आफूहरूकै पक्षमा आउने विश्वास व्यक्त गर्दै न्याय अझै नमरेको बताए।
‘न्याय मरेको छैन, घरमुलीकै पक्षमा न्याय दिलाउनुपर्छ, हिम्मत गर्नुस्,’ उनले कार्यकर्तालाई आग्रह गरे।
नेता महतले गगन थापाको नेतृत्वमा चुनाव लडेका कारण नेपाली कांग्रेसले निर्वाचनमा ठूलो क्षति व्यहोर्नुपरेको आरोपसमेत लगाए। अघिल्लो निर्वाचनमा कांग्रेस ८९ सिटबाट घटेर ३७ सिटमा सीमित हुनुमा गगन थापाको नेतृत्व जिम्मेवार रहेको उनको दाबी थियो।
क्षेत्रीय अधिवेशनमा नेता महतले नियमित महाधिवेशन पक्ष विधि र विधानअनुसार अघि बढिरहेको भन्दै पार्टीको आधिकारिक नेतृत्व आफूहरूकै पक्षमा आउने दाबी गरेका छन्।

