शरीरमा पेट्रोल छर्केर आगो लगाउने व्यक्ति पक्राउ
दाङ,कात्तिक २८। दाङको राजपुर गाउँपालिकामा एक व्यक्तिको शरीरमा पेट्रोल छर्केर आगो लगाई फरार भएका व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–२ मटेरियाका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले सोही ठाउँका ४१ वर्षीय रुपलाल चौधरीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
गत कात्तिक २८ गते दिउँसो करिब २ः३० बजे कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्किएपछि आगो लगाएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका कार्कीलाई खोजी गर्ने क्रममा लमही नगरपालिका–५ रातोडाँडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिए।
आगोले घाइते भएका चौधरीलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा रिफर गरिएको प्रहरी निरीक्षक पौडेलले बताए।
पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

