भारतसँग नेपाल १२५ रनले पराजित
काठमाडौं,कात्तिक २८ । भारतविरुद्धको यु–१९ ‘ए’ महिला क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपाल १२५ रनले पराजित भएको छ ।
आज सम्पन्न खेलमा भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो । नेपालका लागि सावित्री धामीले सर्वाधिक १९ र तृषना विश्वकर्माले १८ रन जोडिन् । अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
भारतका लागि बलर मैत्री मनियारले तीन ओभरमा एक मेडनसहित सात रन खर्चेर चार विकेट लिइन् ।
त्यसअघि भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनाएको थियो । भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले समान ३५ तथा इरा जाधवले २६ रन बनाइन् ।
नेपालका लागि टीका साहले दुई तथा रचना चौधरी र आशिका महराले समान एक विकेट लिए ।
भारत भ्रमणअन्तर्गत शृङ्खलाको पहिलो खेलमा पनि नेपाल नौ विकेटले पराजित भएको थियो । नेपालले अब शृङ्खलाको तेस्रो खेल बुधबार खेल्नेछ ।
आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने यु–१९ महिला विश्वकपको तयारीका लागि नेपाली टोली भारतमा अभ्यास गरिरहेको छ ।

