वैभवी सापकोटाले बैंकक खुला तेक्वान्दोमा नेपाललाई दुई पदक दिलाइन्



बैंकक,कात्तिक २९ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छन्।

नेपालबाट एकमात्र सहभागी खेलाडी ११ वर्षीया वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक जितेकी हुन्।

थाइल्यान्डको बैंककस्थित फेसन आइल्याण्डको स्पोर्ट्स हलमा सम्पन्न प्रतियोगितामा क्योरुगी विधाको प्रतिस्पर्धात्मक खेलमा वैभवी थाइल्यान्डकी खेलाडीसँग पराजित हुँदै रजत पदकमा सीमित भएकी थिइन्। त्यस्तै, पुम्से विधामा ३५ खेलाडीबीच भएको प्रतिस्पर्धामा उनले कास्य पदक हासिल गरेकी हुन्।

वैभवीले यसअघि थाइल्यान्डमै सम्पन्न १४औँ रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई रजत पदक प्राप्त गरेकी थिइन्।

शनिबार र आइतबार सञ्चालन भएको बैंकक खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, भारत, इन्डोनेसिया, अमेरिका, हङकङ, म्यान्मा, बेल्जियम, सिङ्गापुर र भियतनामका करिब तीन हजार खेलाडी सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्