पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि



ढाका,मंसिर १ । भारतले पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै साफ च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ। बंगलादेशको ढाकास्थित नेसनल स्टेडियममा मंगलबार भएको फाइनलमा पुनरागमन जित निकाल्दै भारतले कीर्तिमानी १०औँ पटक उपाधि उचालेको हो।

खेलको पहिलो हाफमा पाकिस्तानले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा आलमगीर गाजीले गोल गर्दै पाकिस्तानलाई १–० को अग्रता दिलाएका थिए।

दोस्रो हाफमा भारतले खेलमा फर्कने प्रयास गरेको थियो। खेलको ५९औँ मिनेटमा खतरनाक ट्याकल गरेपछि भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा पाकिस्तानका जुनैद शाहले सिधै रातो कार्ड पाए।

त्यसको एक मिनेटपछि अर्थात् ६०औँ मिनेटमा सुहेल अहमद भाटले गोल गर्दै भारतलाई बराबरीमा फर्काए। खेल सकिन तीन मिनेट बाँकी रहँदा सन्दीप मन्डीले हेडरमार्फत निर्णायक गोल गरेपछि भारतले २–१ को जित सुनिश्चित गरेको हो। मन्डी खेलको उत्कृष्ट खेलाडी घोषित भए।

यसैबीच, फिफाको निलम्बनका कारण नेपालले साफ च्याम्पियनसिप २०२६ गुमाएको थियो। प्रतियोगिताको इतिहासमा नेपाली टोली पहिलो पटक सहभागी हुन पाएन।

प्रतिक्रिया दिनुहोस्