रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामान बरामद
रुपन्देही,मंसिर २ । रुपन्देहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले करिब २७ लाख १८ हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। भारतबाट अवैध रूपमा नेपाल भित्राउँदै गरेको गाडीका पार्टपुर्जासहित सामान ढुवानीमा प्रयोग भएको भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी क्षेत्रमा मंगलबार चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको सात सदस्यीय टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको करिब २ लाख १८ हजार रुपैयाँ मूल्यका गाडीका पार्टपुर्जा फेला पारेको थियो।
सामान ढुवानीमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको यूपी ७८ डियू ४५५० नम्बरको कारसमेत नियन्त्रणमा लिइएको भट्टराईले जानकारी दिनुभयो। उक्त कारको अनुमानित मूल्य २५ लाख रुपैयाँ रहेको छ।
बरामद गरिएका गाडीका पार्टपुर्जा र कारसहित कुल २७ लाख १८ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ। कार चालक भने फरार रहेकाले उनको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

