डेढ वर्षभित्र देशभर १ हजार ६०० टेलिफोन टावर थपिने



काठमाडौं,मंसिर २ । सरकारले आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप १ हजार ६०० टेलिफोन टावर निर्माण गर्ने भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले करिब १२ अर्ब रुपैयाँ बराबरको ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै निर्धारित समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन्।

मंसिर २ गते मन्त्रालयमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका, जुगल हिमाल तथा आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको मागसहित पुगेका जनप्रतिनिधि र स्थानीयसँगको छलफलमा मन्त्री तिमिल्सिनाले मानव बस्ती भएका सबै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए।

उनले ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत परिचालन गरी देशभर सञ्चार सेवा विस्तार भइरहेको उल्लेख गरे। टावर निर्माणमा बजेट अभावभन्दा पनि प्रक्रियागत जटिलता र निर्धारित समयमा काम सम्पन्न नहुनु मुख्य चुनौती रहेको उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले नागरिकका गुनासो तत्काल सम्बोधन गर्न नेपाल टेलिकमलाई निर्देशन दिँदै आवश्यकताअनुसार नयाँ टावर निर्माण, क्षमता वृद्धि र प्राविधिक सुधार गर्न आग्रह गरे। विद्युत् सुविधा नपुगेका स्थानमा उच्च क्षमताका सौर्य ऊर्जा प्रणाली र ब्याट्री जडान गरी टावर सञ्चालन गर्न पनि उनले निर्देशन दिए।

छलफलमा प्रतिनिधिसभा सदस्य प्रदीप विष्टले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको उल्लेख गर्दै दुर्गम तथा हिमाली क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधार गर्न आग्रह गरे।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले जुगल गाउँपालिकामा तत्काल प्राविधिक टोली पठाएर सञ्चार सेवाको अवस्थाबारे स्थलगत अध्ययन गरी आवश्यक सुधार अघि बढाउने बताइन्।

छलफलमा सहभागी जुगलका स्थानीय युवाहरूले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन भइरहेका बेला सञ्चार सुविधाको अभाव पर्यटन प्रवर्द्धनमा चुनौती बनेको बताए। उनीहरूले जुगल हिमाल, जुगल भ्यु पोइन्ट र आधार शिविरसम्म मोबाइल नेटवर्क तथा इन्टरनेट विस्तार गर्न माग गरेका छन्।

समुद्री सतहदेखि करिब ४ हजार ५०० मिटर उचाइमा रहेको जुगल भ्यु पोइन्ट र आधार शिविरसम्म सेवा पुर्‍याउन नयाँ टावर स्थापना गर्नुपर्ने, मेलम्ची डाँडाको टावर मर्मत तथा क्षमता वृद्धि गर्नुपर्ने र पाङ्ग्रेप डाँडाको टावर पुनः सञ्चालनमा ल्याउनुपर्ने उनीहरूको माग छ।

त्यस्तै बोल्दे, गुम्बा, क्याङसिङ, अम्बाखर्क, तेम्बाथान र दिप्पुङलगायतका बस्तीमा भरपर्दो तथा गुणस्तरीय फोरजी सेवा उपलब्ध गराउन पनि स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्