आधुनिक प्रविधिले फेरिँदै नुवाकोटको आलु खेती, हाते ट्याक्टरबाट ड्याङ बनाउन किसानलाई सहज



• भरतसन्तोषी लामा

नुवाकोट,मंसिर २ — कुनै समय गोरु र हलोको सहायताले खेत जोतेर आलु खेती गर्दै आएका नुवाकोटका किसान पछिल्लो समय आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुन थालेका छन्। खेतीपातीमा लाग्ने समय र श्रम घटाउँदै उत्पादनलाई सहज बनाउने उद्देश्यले किसानले कृषि यन्त्रको प्रयोग बढाउन थालेका हुन्।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ आठबिसेमा यतिबेला ध्रुवेन्द्र बोहराको खेतमा आलु रोप्ने तयारीका लागि मेसिनबाट माटोको ड्याङ बनाउन भ्याइनभ्याई छ। पहिले जनशक्ति र गोरुको सहायताले गर्नुपर्ने काम अहिले हाते ट्याक्टरको प्रयोगबाट छिटो र सहज रूपमा हुन थालेको हो।

जिल्ला कृषि कार्यालयका प्राविधिक राजनकुमार डङ्गोलका अनुसार आलु खेतीलाई सहज बनाउने उद्देश्यले २०७५ सालमै खरिद गरिएको उक्त कृषि मेसिन पछिल्लो समय प्रयोगमा ल्याउन थालिएको हो। मेसिनमा माटोको ड्याङ बनाउन मिल्ने उपकरण जडान गरेर खेत तयार पार्ने काम भइरहेको छ।

विशेषगरी आलु खेतीका लागि प्रख्यात थानसिङ, ढिकुरे तथा चौघडा फाँटमा यस्ता मेसिनको प्रयोग प्रभावकारी हुने बताइएको छ। समथर र फराकिला खेतमा मेसिनको सहायताले कम समयमा बढी क्षेत्रफलमा ड्याङ बनाउन सकिने भएकाले किसानलाई खेती गर्न सहज हुने अपेक्षा गरिएको छ।

कृषि क्षेत्रमा प्रयोग हुने मिनी टिलर अर्थात् पावर विडरलाई ग्रामीण भेगमा सामान्यतया हाते ट्याक्टरका रूपमा चिनिन्छ। डिजेलबाट सञ्चालन हुने यस्ता मेसिनमा आवश्यकताअनुसार विभिन्न उपकरण जडान गर्न सकिन्छ। खेत जोत्ने, झारपात हटाउने, माटो खुकुलो बनाउनेदेखि आलु तथा अन्य तरकारी खेतीका लागि ड्याङ बनाउनसम्म यसको प्रयोग गर्न सकिन्छ।

पछिल्लो समय आलु उत्पादन गरे पनि उचित मूल्य नपाएको गुनासो गर्दै आएका किसानमा पुनः आलु खेतीप्रति आकर्षण बढ्न थालेको छ। बजार मूल्यको अनिश्चितताका बाबजुद खेती गर्ने परम्परालाई निरन्तरता दिन र उत्पादन लागत घटाउन आधुनिक कृषि उपकरणको प्रयोगले सहयोग पुग्ने किसानको अपेक्षा छ।

कृषिमा जनशक्तिको अभाव बढ्दै गएको अवस्थामा यस्ता प्रविधिको प्रयोगले श्रम, समय र लागत घटाउन सहयोग पुर्‍याउन सक्छ। परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्न सके नुवाकोटका आलु उत्पादक किसानलाई व्यावसायिक खेतीतर्फ अघि बढ्न थप सहज हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्