जंक फुडको अत्यधिक सेवनले बालबालिकाको मानसिक स्वास्थ्य र पढाइमा असर
क्यानबेरा,मंसिर ३ । जंक फुड तथा चिनीको मात्रा बढी भएका पेय पदार्थको अत्यधिक सेवनले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य, बौद्धिक क्षमता र शैक्षिक उपलब्धिमा नकारात्मक असर पार्ने एक अध्ययनले देखाएको छ ।
अस्ट्रेलियाको फ्लिन्डर्स विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार अस्वस्थ खानपान र बालबालिकाको मानसिक स्वास्थ्य तथा शैक्षिक प्रदर्शनबीच सम्बन्ध देखिएको हो । अस्ट्रेलियामा गरिएका १७ वटा अध्ययनको व्यवस्थित समीक्षाका आधारमा यस्तो निष्कर्ष निकालिएको विश्वविद्यालयले जनाएको छ ।
‘करन्ट न्युट्रिसन रिपोर्ट्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित अध्ययनले अत्यधिक ऊर्जा दिने तर पोषणतत्त्व कम भएका खाद्य पदार्थ तथा चिनीजन्य पेय पदार्थको सेवनले बालबालिकाको मानसिक स्वास्थ्य, समग्र कल्याण र शैक्षिक नतिजामा नकारात्मक प्रभाव पार्न सक्ने देखाएको छ ।
अध्ययनअनुसार बाल्यकाल र किशोरावस्था शारीरिक तथा मानसिक विकासका महत्त्वपूर्ण चरण भएकाले यस समयमा सन्तुलित र पोषणयुक्त आहार आवश्यक हुन्छ । फलफूल, तरकारी, साबुत अन्न, समुद्री खाद्य पदार्थ, गेडागुडी तथा दुग्धजन्य पदार्थ समावेश भएको खानाले बालबालिकाको वृद्धि, मस्तिष्कको कार्यक्षमता र समग्र स्वास्थ्यमा सहयोग पुर्याउँछ ।
अध्ययनका प्रमुख लेखक तथा फ्लिन्डर्स विश्वविद्यालयका अनुसन्धानकर्ता जेगेये अबेबे अबिटेवले बालबालिकामा सानै उमेरदेखि स्वस्थ खानपानको बानी विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार अतिरिक्त चिनी, नुन, चिल्लो पदार्थ तथा रासायनिक र संरक्षक तत्त्व बढी भएका जंक फुडको सेवन सीमित गर्न आवश्यक छ ।
अनुसन्धानकर्ताहरूले बालबालिका तथा किशोरकिशोरीको पोषण अवस्था सुधार गर्न लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । विद्यालय तथा समुदायमा पोषणसम्बन्धी शिक्षा विस्तार गर्नुका साथै स्वस्थ खाद्य पदार्थ सर्वसाधारणको पहुँचमा पुर्याउनुपर्ने उनीहरूको भनाइ छ ।
विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाले समेत पर्याप्त पोषणयुक्त खाना प्राप्त गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको अध्ययनले औँल्याएको छ ।
अध्ययनले बाल्यकालको खानपानले तत्कालीन स्वास्थ्यमा मात्र नभई भविष्यको शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्ने देखाएको छ । त्यसैले बालबालिकालाई सानै उमेरदेखि पोषणयुक्त खाना खाने बानी बसाल्न र जंक फुडको सेवन नियन्त्रण गर्न अनुसन्धानकर्ताहरूले सुझाव दिएका छन् ।

