कारको डिकीमा लुकाएर ल्याइएको ११७ किलो गाँजा बरामद, चालक फरार



मकवानपुर,मंसिर ३ । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित प्रहरी चेकपोस्टबाट कारको डिकीमा लुकाएर ल्याउँदै गरेको ११७ किलो ९१० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । गाँजा बरामद भए पनि कार चालक भने फरार भएका छन् ।

प्रहरीका अनुसार गए राति करिब १ः४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको बीएबी ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा रोकेको थियो । सोधपुछका क्रममा चालकले कारको डिकीमा केही नभएको दाबी गर्दै अचानक भागेपछि प्रहरीलाई शङ्का लागेको थियो ।

त्यसपछि प्रहरीले कारको डिकी खोलेर जाँच गर्दा साना–ठूला गरी नौ वटा पोकामा प्याक गरिएको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तौल गर्दा उक्त गाँजा ११७ किलो ९१० ग्राम रहेको पुष्टि भएको छ ।

प्रहरीले गाँजा र कार नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ । फरार चालकको खोजी भइरहेको र घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्