बसाइँसराइले गाउँ रित्तिँदा चितुवा र दुम्सीको आतङ्क, किसानको पशुपालन सङ्कटमा
बागलुङ,मंसिर ३ । बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेपछि स्थानीय किसान पशुपालन र खेतीपातीबाटै विस्थापित हुने अवस्थामा पुगेका छन् । पछिल्लो नौ महिनामा पाँच किसानका १२ वटा बोका तथा बाख्रा चितुवाले खाएपछि किसान थप चिन्तित बनेका छन् ।
दमेकको गौडा, भैँसेखर्क र टापुका करिब २५ घरपरिवार पशुपालन र खेतीपातीमा निर्भर छन् । तर चितुवाले खर्कमै पुगेर बाख्रामाथि आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्न थालेपछि उनीहरूको जीविकोपार्जनमा समस्या परेको छ ।
चितुवाको आक्रमणबाट गङ्गाधर सापकोटाका दुई बोका र एक पाठी, रत्न परियारका तीन, नारायण सापकोटाका दुई, मेहन्द्र हमालका दुई तथा गङ्गाबहादुर ठकुरीका दुई बाख्रा तथा पाठा मारिएका छन् ।
आठ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएका गङ्गाधर सापकोटाले सुरुमा २० वटा गाई र २७ वटा बाख्रा पाले पनि पछिल्लो समय बाख्राको सङ्ख्या घटाउँदै लगेको बताउनुभयो । चितुवाको डरले खर्कमा पशु चराउनसमेत कठिन भएको उहाँको भनाइ छ ।
सापकोटाका अनुसार धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायत छिमेकी गाउँबाट मानिसहरू बसाइँ सरेपछि खेतबारी झाडीमा परिणत भएका छन् । बस्ती र खेतीयोग्य जमिन खाली हुँदै जाँदा चितुवा र दुम्सीको गतिविधि बढेको उहाँले बताउनुभयो ।
अर्का किसान रत्न परियारले चितुवाले बाख्रा मार्ने र दुम्सीले खेतीबाली नष्ट गर्ने गर्दा किसान दोहोरो मारमा परेको गुनासो गर्नुभयो । उहाँले चितुवा लखेट्न सहयोग पुग्ने कुकुर उपलब्ध गराउन जैमिनी नगरपालिकासँग माग गरेको बताउनुभयो ।
जैमिनी नगरपालिकामा बढ्दो बसाइँसराइका कारण बाँझो जमिन र झाडी विस्तार हुँदा बाँदर, चितुवा र दुम्सीजस्ता वन्यजन्तुको समस्या बढ्दै गएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेका अनुसार नगरपालिकाबाट बसाइँसराइ गरेर जानेको सङ्ख्या बढी रहेको छ ।
गाउँबाट मानिसहरू पलायन हुँदा बाँझो बनेका खेतबारी र बढ्दो झाडीले गाउँमै बसिरहेका किसानको पशुपालन तथा कृषि व्यवसायसमेत जोखिममा पारेको छ ।

