नुवाकोटको रातमाटे स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरका उपकरण हस्तान्तरण
नुवाकोट,मंसिर ३ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटस्थित रातमाटे स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ । ग्रामीण क्षेत्रका गर्भवती महिलालाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले उपकरण प्रदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोटले युनिसेफको सहकार्य तथा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य चौकीलाई आवश्यक उपकरण तथा सामग्री हस्तान्तरण गरेको हो ।
रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले वडाध्यक्ष भुवनेश्वर नेपालको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यस क्षेत्रका गर्भवती महिलालाई सामान्य प्रसूति सेवाका लागि सदरमुकाम वा काठमाडौंका स्वास्थ्य संस्थामा पुग्नुपर्ने बाध्यता कम हुने सभापति श्रेष्ठले बताउनुभयो ।
बर्थिङ सेन्टर छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको वडाध्यक्ष नेपालले जानकारी दिनुभयो । सेन्टर सञ्चालनमा आएपछि स्थानीय महिलाको सुरक्षित प्रसूति तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा सहजता पुग्ने अपेक्षा गरिएको छ ।

