नुवाकोट लिखुका उत्कृष्ट प्रधानाध्यापक थपलिया सम्मानित
नुवाकोट,मंसिर ४। लिखु गाउँपालिकाका उत्कृष्ट प्रधानाध्यापक सिताराम थपलिया सम्मानित भएका छन्। गाउँपालिकाको नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा उत्कृष्ट कार्यसम्पादनका आधारमा थपलियालाई खादा ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको हो।
लिखु गाउँपालिका–४ स्थायी घर भएका थपलिया लिखु गाउँपालिका–३ मा रहेको निरञ्जना आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।
कार्यक्रममा विभिन्न विद्यालयका उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई समेत सम्मान गरिएको थियो। प्रतियोगिताअन्तर्गत आधारभूत तहका विद्यार्थीबीच चम्चा–गुच्चा दौड, रिले दौड र म्युजिकल चेयरलगायतका खेल सञ्चालन भएका छन्। त्यसैगरी माध्यमिक तहका विद्यार्थीबीच एथलेटिक्स प्रतियोगिता भएका छन्।
प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले गरेका थिए। यस वर्ष जिल्लामै सबैभन्दा पहिले लिखु गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ ।
गाउँपालिकाका शिक्षा प्रमुख शेरसिंह रावतले शैक्षिक सत्रको अन्त्यतिर प्रतियोगिता आयोजना गर्दा वार्षिक परीक्षाको समय व्यवस्थापनमा असहज हुने भएकाले चाडपर्वको समयमा आवश्यक तयारी गरी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
शिक्षक तथा विद्यार्थी सम्मान समारोहमा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष सुभद्रा अधिकारी, शिक्षा प्रमुख शेरसिंह रावत, शिक्षक विद्यार्थी जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे । क्षेत्रपाल माध्यमिक विद्यालयको प्राङ्गणमा भैरहेको प्रतियोगिता आइतबार समापन हुनेछ।

