मधेशमा नयाँ सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह
काठमाडौँ,मंसिर ४ । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखसँग दाबी पेस गर्ने समयसीमा थप गर्न आग्रह गरेका छन् ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न दिएको समयसीमा आज साँझ ४ बजे सकिएको छ । तर, सरकारको नेतृत्व र गठन प्रक्रियाबारे दलहरूबीच सहमति हुन सकेको छैन ।
समयसीमा थप गर्न तीन दलका नेताहरूले प्रदेश प्रमुखसमक्ष लिखित आग्रह गरेका हुन् । नेकपाका संसदीय दलका नेता युवराज भट्टराईका अनुसार छठपर्व तथा एमालेको राष्ट्रिय भेलालगायतका कारण पर्याप्त छलफल हुन नसकेकाले थप समय माग गरिएको हो । उहाँले सरकार गठनबारे छलफल जारी रहे पनि नेतृत्वको विषयमा सहमति भइनसकेको बताउनुभयो ।
यसैबीच, मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधानको धारा १६८ को उपधारा (३) अनुसार सरकार गठन गर्न माग गरेको छ । पार्टीका प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुखलाई भेटेर आफ्नो दलका संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्नुभएको हो ।
यसअघि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने बताउनुभएको थियो ।
कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएका एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिनुभएको थियो । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपालका २८, एमालेका २४, कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सदस्य छन् । यस्तै, नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।
कुनै पनि दलको एकल बहुमत नरहेको मधेश प्रदेशमा सरकार गठनका लागि दलहरूबीच सहकार्य आवश्यक छ । तर, नेतृत्वको विषयमा सहमति जुट्न नसक्दा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा परेको छ ।

