देशभर तुलसीको दामोदरसँग विवाह गरी हरिबोधिनी एकादशी मनाइयो



काठमाडौँ,मंसिर ४ । देशभर आज तुलसीको भगवान् दामोदरसँग विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वमा तुलसीको विशेष पूजा आराधना गरी दामोदरसँग विवाह गर्ने धार्मिक परम्परा छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिनासम्म तुलसीको व्रत तथा विशेष पूजा गर्दै आएका भक्तजनले आज विवाह विधि पूरा गरी पर्व सम्पन्न गरेका हुन् ।

धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझिने भएकाले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठलाई गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाएर विवाह गरिन्छ । तुलसी भगवान् विष्णुकी प्रिय भएकाले दामोदरसँग विवाह गर्ने परम्परा रहेको धार्मिक विश्वास छ ।

विवाहका क्रममा तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालोको लिङ्ग गाडेर विधिपूर्वक पूजा गर्ने चलन छ । कार्तिक महिनाभर सबै देवीदेवता तुलसीमै निवास गर्ने धार्मिक विश्वाससमेत रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्