चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार घाइते



काठमाडौं,मंसिर ४ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन्।

शुक्रबार साँझ करिब ६ बजे मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२-०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी निवासी २५ वर्षीय रमेश चौधरी र पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका थिए।

प्रहरी प्रभाग मातातीर्थबाट खटिएको टोलीले दुवै जनालाई उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित एपीएफ अस्पताल पुर्‍याएको थियो। उपचारका क्रममा साँझ ७ बजे चिकित्सकले चालक चौधरीलाई मृत घोषणा गरेका थिए। पछाडि सवार वाइबाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्