कन्याममा आजदेखि प्रथम सूर्योदय चिया महोत्सव सुरु, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
इलाम,मंसिर ५ । इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा आजदेखि दुईदिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ सुरु हुँदैछ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा (लिम्बू)ले गर्ने कार्यक्रम रहेको छ । चिया पर्यटन प्रवर्द्धन तथा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको महोत्सव व्यवस्थापन समिति संयोजक एवं सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार महोत्सवमा आन्तरिक तथा बाह्य गरी १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
महोत्सवमा चिया दौड प्रतियोगिता, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी पदयात्रा, स्थानीय खाना तथा परिकारको प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । साथै सूर्योदय क्षेत्रमा उत्पादित विभिन्न ब्रान्डका चियाको प्रदर्शनी, स्वाद परीक्षण तथा बजारीकरणको व्यवस्था गरिएको छ ।
महोत्सवअन्तर्गत पुरुष र महिलातर्फ छुट्टाछुट्टै चिया दौड प्रतियोगिता सञ्चालन हुनेछ । पुरुषतर्फ १२ दशमलव ५ किलोमिटर र महिलातर्फ ९ किलोमिटर दूरीको दौड हुनेछ । पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ प्रथम हुनेले २० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सूर्योदय नगरपालिका–७ कन्यामदेखि वडा नं. ५ श्रीअन्तुसम्म २५ दशमलव ५ किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत निर्माण भइरहेको उक्त पदमार्गको प्रचारप्रसारलाई महोत्सवले प्राथमिकता दिएको छ ।
महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
हरियाली चियाबारी, प्राकृतिक सौन्दर्य र रमणीय दृश्यका कारण कन्याम इलामको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । वनभोज, घोडचढी, तस्बिर तथा भिडियो खिच्न र दृश्यावलोकनका लागि यहाँ दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्छन् । मेची राजमार्गसँग जोडिएको कन्याम झापाको चारआलीबाट करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ ।

