प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै



काठमाडौँ,मंसिर ५ । प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको दुई दिने राजकीय भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जान लाग्नुभएको हो । उहाँ आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्नुहुनेछ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी हुनेछन् । निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने कार्यक्रम छ । पहिलो दिन भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ । दुई देशबीच सम्पर्क सञ्जाल र ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका समझदारीपत्र आदानप्रदान गरिने जनाइएको छ ।

भ्रमणका क्रममा नेपाल–भारत व्यापार मञ्चको छलफल कार्यक्रम पनि आयोजना हुनेछ । उक्त कार्यक्रममा भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर, सरकारका नीतिगत प्रयास तथा लगानीकर्ताका चासो र सरोकारबारे छलफल गरिनेछ । यसले नेपाली र भारतीय व्यवसायीबीच सहकार्य विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुहुने कार्यक्रम छ ।

दुई दिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मङ्सिर ७ गते साँझ ६ः३५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्