सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपीएल च्याम्पियन, लुम्बिनीलाई १० विकेटले हरायो



काठमाडौं,मंसिर ५ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक उपाधि जितेको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा जर्ज मुन्सीले शतकीय पारी खेले। उनले ५४ बलमा १२ छक्का र ८ चौकासहित अविजित १२५ रन बनाए। यो जारी प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत रन हो। विनोद भण्डारी २७ बलमा ३० रन बनाउँदै अविजित रहे। पहिलो विकेटका लागि मुन्सी र विनोदले १५८ रनको अविजित साझेदारी गरेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले ३१ बलमा ३०, निरोशन डिकवेल्लाले २८, डार्सी सर्टले २१ र दिलीप नाथले अविजित ३९ रन बनाए। अली शेखले १२ बलमा २४ रनको योगदान दिए।

सुदूरपश्चिमका लागि स्कट कुगलाइनले दुई तथा हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।

तेस्रो प्रयासमा उपाधि जितेको सुदूरपश्चिम यसअघिका दुवै संस्करणको फाइनलमा पराजित भएको थियो। पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले यस पटक भने उपाधि जित्न सफल भयो।

प्रतियोगिताका तीनवटै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम एक्लो टोली हो। एनपीएलको तेस्रो संस्करणमा तीन फरक टोलीले उपाधि जित्ने क्रम पनि कायम रहेको छ। उता, लगातार दोस्रो पटक उपाधि जित्दै इतिहास रच्ने लुम्बिनीको सपना भने अधुरै रह्यो।

प्रतिक्रिया दिनुहोस्