दैलेखमा बन्चरो प्रहारबाट श्रीमतीसहित तीन जनाको मृत्यु, ६ वर्षीय छोरा गम्भीर घाइते



दैलेख,मंसिर ५। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानिखोलामा घरायसी विवादका क्रममा बन्चरो प्रहार हुँदा श्रीमतीसहित तीन जनाको मृत्यु भएको छ। घटनामा ६ वर्षीय छोरा गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार शनिबार बिहान करिब ९ः३५ बजे ३८ वर्षीय अम्मर सलामी मगरले सामान्य घरायसी विवादका क्रममा आफ्नै श्रीमती ३५ वर्षीया मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिष्मा सलामीलाई दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरेका थिए।

घाइते चारै जनालाई उपचारका लागि दुल्लु नगर अस्पताल लगिएकोमा चिकित्सकले तपेन्द्र र करिष्मालाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते मनिषा र मिलनलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएको थियो। उपचारका क्रममा दिउँसो २ः१० बजे मनिषाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे स्थानीयले बिहान १० बजे प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनामा संलग्न अम्मर सलामी मगरलाई बन्चरोसहित नियन्त्रणमा लिएको छ।

घटनामा गम्भीर घाइते भएका ६ वर्षीय मिलनको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्