चुनाव प्रचारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोग गर्न प्रचण्डको जोड
भक्तपुर,मंसिर ५ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
मध्यपुर थिमीमा शनिबार नेपाली कम्युनिस्ट पार्टी भक्तपुरले आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रममा बोल्दै उहाँले बदलिँदो समय र सूचना प्रविधिमा आएको परिवर्तनअनुसार पार्टीले आफ्नो प्रचारशैली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिले सूचना प्रविधिको युग भएकाले यसको प्रयोग गर्न नसके चुनावी प्रतिस्पर्धामा पछि पर्न सकिने बताउनुभयो । विगतमा जस्तो भाषण र आमसभामा मात्रै सीमित नभई सामाजिक सञ्जाल तथा प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने उल्लेख गर्दै राजनीतिक दलसँगको छलफल र परामर्शपछि सरकारले उपयुक्त समयमा निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेता तथा कार्यकर्तालाई स्थानीय तहको आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गर्नुभयो ।
उहाँले पार्टीका कार्यक्रमलाई अनावश्यक रूपमा लामो र भद्दा नबनाई चुस्त तथा विषयवस्तु केन्द्रित बनाउनुपर्ने बताउनुभयो । पार्टी संगठन सुदृढीकरण र वैचारिक स्पष्टताका लागि देशभर प्रशिक्षण तथा तालिम सञ्चालन गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

