दैलेखमा बन्चरो प्रहार गरी श्रीमती र चार सन्तान घाइते बनाउने व्यक्ति पक्राउ



दैलेख,मंसिर ५। दैलेखमा घरायसी विवादका क्रममा बन्चरो प्रहार गरी श्रीमती र चार सन्तानलाई घाइते बनाउने एक व्यक्ति पक्राउ परेका छन्।

जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा स्थानीय ३८ वर्षीय अम्मर सलामी मगरले आफ्नै श्रीमती र सन्तानमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेका हुन्।

उनले ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्मालाई बन्चरोले टाउकोमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

घाइते चारै जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत दैलेखको दुल्लुस्थित नगर अस्पताल पठाइएको छ।

घटना गराउने अम्मर सलामी मगर र घटनामा प्रयोग भएको बन्चरो प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्