बबई नदीमा १० हजार माछाका भुरा छोडियो



बर्दिया,मंसिर ५ । विश्व मत्स्य दिवसको अवसरमा बर्दियाको बबई नदीमा १० हजार माछाका भुरा छोडिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले गुलरिया नगरपालिका–४ स्थित जब्दी घाटमा माछाका भुरा छोडेको हो ।

‘जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी, मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी’ भन्ने मूल नाराका साथ नदीमा माछाका भुरा छोडेर विश्व मत्स्य दिवस मनाइएको हो ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाकी प्रमुख कमला अधिकारीले जलवायु परिवर्तनको प्रभाव नदी, नाला, सिमसार क्षेत्र तथा जलचर प्राणीमा समेत देखिन थालेकाले यसको प्रभाव न्यूनीकरण र मत्स्य सम्पदाको संरक्षणका लागि माछाका भुरा छोडिएको बताउनुभयो ।

उहाँका अनुसार अनियमित वर्षा, नदीको बहावमा आउने परिवर्तन, बाढी तथा खडेरीका कारण माछाको प्राकृतिक बासस्थान र प्रजनन प्रक्रियामा प्रतिकूल असर परिरहेको छ ।

त्यसैगरी अव्यवस्थित रूपमा माछा मार्ने, विषादी तथा विद्युतीय करेन्ट प्रयोग गर्ने, नदी तथा जलाशयमा फोहोर र प्रदूषण विसर्जन गर्ने तथा जथाभावी उत्खनन गर्ने प्रवृत्तिले माछाको प्राकृतिक बासस्थान विनाश हुनुका साथै अस्तित्वसमेत सङ्कटमा परेको उहाँले बताउनुभयो ।

जिल्ला मत्स्य व्यवसाय सङ्घका अध्यक्ष गणेश लम्सालले नदीमा अव्यवस्थित रूपमा माछा मार्ने प्रवृत्ति रहेको बताउँदै माछाका भुरा छोड्ने कार्यले रैथाने प्रजातिका माछाको संरक्षण र सङ्ख्या वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्