प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता सुरु



नयाँ दिल्ली, मङ्सिर ७ । भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता सुरु भएको हो । भेटवार्ताअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई हैदराबाद हाउसमा स्वागत गर्नुभएको थियो ।

भेटवार्तामा नेपालको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी हुनुहुन्छ । भारतीय पक्षबाट विदेशमन्त्री डा. एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी छन् ।

प्रधानमन्त्रीस्तरको भेटवार्तापछि नेपाल र भारतका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्नुभएको दिवाभोजमा पनि प्रधानमन्त्री शाह सहभागी हुनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ ।

यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्