नुवाकोट पञ्चकन्याका बाढीपहिरो प्रभावितका लागि महिला सहकारीद्वारा ३३ हजार सहयोग
नुवाकोट,मंसिर ९ । गत भदौ ४ र ५ गतेको भीषण वर्षाका कारण बाढीपहिरोबाट प्रभावित पञ्चकन्या गाउँपालिकाका नागरिकका लागि राहत सहयोग प्राप्त हुने क्रम जारी रहेको छ।
यसैक्रममा पञ्चकन्या गाउँपालिका–४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले प्रभावित नागरिकको राहत तथा सहयोगका लागि ३३ हजार ३३३ रुपैयाँ नगद सहयोग गरेको छ।
सहकारीका तर्फबाट मंगलबार उक्त रकम गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो।
गाउँपालिकाले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्ने सहकारी संस्थाप्रति आभार व्यक्त गरेको छ।

