विपन्न नागरिकका लागि एक हजार घर बनाउने बागमती प्रदेश सरकारको योजना
मकवानपुर,मंसिर ९ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशभित्रका कुनै पनि विपन्न नागरिकलाई घरविहीन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले चालु आर्थिक वर्षमा विपन्न नागरिकका लागि एक हजार घर निर्माण गर्ने गरी प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित समिलडाँडा चेपाङ बस्तीमा मङ्गलबार आयोजित राहत सामग्री वितरण कार्यक्रममा मुख्यमन्त्री थापाले मुख्यमन्त्री आवास कार्यक्रममार्फत आवासविहीन नागरिकको समस्या समाधान गरिने बताउनुभयो । विशेषगरी घरविहीन चेपाङ परिवारका लागि प्रतिपरिवार चार लाख रुपैयाँका दरले घर निर्माण गर्ने प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
उहाँले आवाससँगै विपन्न परिवारको आयआर्जन र आत्मनिर्भरताका लागि कुखुरा, बाख्रा तथा भैँसीपालनजस्ता व्यवसायमा सहयोग गर्ने गरी बजेट व्यवस्था गरिएको बताउनुभयो । बस्तीका खानेपानी तथा सुरक्षासम्बन्धी समस्या समाधानका लागि पनि प्रदेश सरकारले पहल गर्ने उहाँको भनाइ थियो ।
चेपाङ बस्तीका परिवारको अवस्था प्रत्यक्ष अवलोकन गरेपछि आधारभूत आवश्यकताका सामग्री जुटाउन आफूले पहल गरेको मुख्यमन्त्री थापाले बताउनुभयो । उहाँको आग्रहमा विजय अग्रवालले मारवाडी सेवा समिति र मारवाडी महिला मञ्चलगायत संस्थासँग समन्वय गरी सहयोग जुटाउनुभएको थियो ।
मारवाडी महिला मञ्चकी अध्यक्ष रेखा खेतानको अध्यक्षतामा भएको कार्यक्रममा बस्तीका ३५ परिवारलाई खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, सिरक, डसना, कम्बल, खटिया तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको थियो । उक्त सामग्री समाजसेवी तथा विभिन्न संस्थाको सहयोगमा जुटाइएको जनाइएको छ ।

