चौथो संस्करणदेखि नै एनपिएलमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी
काठमाडौँ, मङ्सिर ९ । नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी चौथो संस्करणदेखि नै ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी अघि बढाइएको छ। यसका लागि दुईदेखि तीनवटा मैदानबाट खेल सञ्चालन गर्ने गरी क्रिकेट रङ्गशाला निर्माण तथा व्यवस्थापनबारे सरकारले फ्रेन्चाइज टोलीका सञ्चालक र प्रतिनिधिसँग छलफल गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी चौथो संस्करणदेखि दुईदेखि तीनवटा मैदानमा घरेलु तथा बाह्य मैदानको अभ्यास सुरु गरी पाँचौँ र छैटौँ संस्करणसम्म आठवटै टोलीका आफ्नै घरेलु मैदानमा खेल सञ्चालन गर्न सकिने बताउनुभयो।
प्रधानमन्त्री वालेन्द्र शाहले एनपिएलको छैटौँ संस्करणदेखि आठवटै फ्रेन्चाइज टोलीका आफ्नै सुविधासम्पन्न रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेपछि मन्त्रालयले कार्यान्वयनको तयारी थालेको हो।
छलफलमा मन्त्री पोखरेलले एकैपटक आठवटा रङ्गशाला निर्माण गर्नुभन्दा चरणबद्ध रूपमा अघि बढ्नुपर्ने बताउँदै सार्वजनिक–निजी साझेदारी वा क्लबलाई दीर्घकालीन भाडामा दिएर निर्माण गर्ने विकल्पमा सरकार खुला रहेको उल्लेख गर्नुभयो।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदान, मूलपानी मैदान र चितवनस्थित गौतमबुद्ध क्रिकेट रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन परिमार्जन गरी कम लागतमा १० महिनाभित्र निर्माण तथा तयारीका काम सम्पन्न गर्न सकिने प्रस्ताव प्रस्तुत गर्नुभयो।
फ्रेन्चाइज टोलीका प्रतिनिधिले आगामी सिजनका लागि कीर्तिपुर मैदानको दर्शक क्षमता तत्काल बढाउनुपर्ने सुझाव दिएका छन्। उनीहरूले बिहानका खेल मूलपानी र साँझका खेल फ्लडलाइटमा कीर्तिपुरमा सञ्चालन गर्न सकिने विकल्पसमेत प्रस्तुत गरेका छन्।
त्यसैगरी, खेलकुद पूर्वाधारमा निजी तथा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नीतिगत व्यवस्था स्पष्ट गर्नुपर्ने र प्रायोजनसम्बन्धी जटिलता हटाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
‘होम एन्ड अवे’ प्रणाली लागू गर्दा अन्तर्राष्ट्रियस्तरको प्रसारण, कार्यक्रम उत्पादन तथा निर्णय पुनरावलोकन प्रणाली सञ्चालनको लागत र आम्दानी बाँडफाँटबारे पनि छलफल भएको थियो।
छलफलमा प्राप्त सुझाव समेट्दै मन्त्री पोखरेलले फ्रेन्चाइज टोलीसँग सार्वजनिक–निजी साझेदारीको ढाँचामा सहकार्य गरेर रङ्गशाला निर्माणको काम अघि बढाउन सरकार इच्छुक रहेको बताउनुभयो। उहाँले आवश्यक कार्ययोजना र निर्माणको ढाँचा तयार गरी छिट्टै काम सुरु गरिने जानकारी दिनुभयो।

