सुदूरपश्चिम रोयल्सको ट्रफी टुर नौ जिल्लामा, मंसिर १३ देखि २० गतेसम्म कार्यक्रम



काठमाडौं,मंसिर ९। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले ट्रफी टुर कार्यक्रम सार्वजनिक गरेको छ । मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टुरमा उपाधि ट्रफी सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा पुर्‍याइने भएको छ ।

टोलीका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका विभिन्न जिल्लामा पुर्‍याउन लागिएको बताए । उपाधि जितको खुसी समर्थक र स्थानीय समुदायसँग बाँड्ने उद्देश्यले ट्रफी टुर आयोजना गर्न लागिएको उनले बताए ।

कार्यक्रमअनुसार मंसिर १३ गते अछाम र बाजुराबाट ट्रफी टुर सुरु हुनेछ । अछामको बैजनाथ मन्दिरमा बिहान ८:३० बजे ट्रफी प्रदर्शन गरिनेछ भने ९:३० देखि ११:३० बजेसम्म बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म र्‍याली हुनेछ । सोही दिन दिउँसो ४ देखि ५ बजेसम्म बाजुराको मार्तडीमा र्‍याली आयोजना हुनेछ ।

मंसिर १४ गते डोटीको शैलेश्वरी मन्दिरमा ट्रफी प्रदर्शन गरी दीपायल बजारसम्म र्‍याली निकालिनेछ । त्यसपछि डडेल्धुरा बजारमा र्‍याली तथा साँझ उग्रतारा मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

मंसिर १५ गते बैतडीको निङ्गलाशैनी मन्दिर र गोठलापानी बजार तथा १६ गते दार्चुलाको मालिकार्जुन मन्दिर र खलङ्गा बजारमा ट्रफी टुर हुनेछ । मंसिर १७ गते बझाङको चैनपुर बजारमा र्‍याली गरिनेछ भने १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी पुर्‍याइनेछ ।

त्यस्तै, मंसिर १९ गते कैलालीको टीकापुर पार्क, चिसापानी, लम्की, घोडाघोडी ताल र अत्तरियामा ट्रफी प्रदर्शन गरिनेछ । सोही दिन महेन्द्रनगर बजारदेखि दोधारा चाँदनी पुलसम्म र्‍याली आयोजना हुनेछ ।

ट्रफी टुरको अन्तिम दिन मंसिर २० गते धनगढीमा र्‍याली निकालिनेछ । दिउँसो ३ देखि ५ बजेसम्म चौराहादेखि महोत्सव मैदानसम्म र्‍याली हुनेछ । साँझ ५ बजे महोत्सव मैदानमा साङ्गीतिक कार्यक्रमसहित ट्रफी टुर समापन गरिने सुदूरपश्चिम रोयल्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्