राष्ट्रिय पौडीमा एकै दिन चार कीर्तिमान, दोस्रो दिनसम्म ६ राष्ट्रिय रेकर्ड
नेपालगञ्ज,मंसिर ९ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको दोस्रो दिन बुधबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । पुरुषतर्फ अर्थव सिंह र अभिव प्रधान तथा महिलातर्फ लिली बोहराले व्यक्तिगत स्पर्धामा नयाँ कीर्तिमान बनाउँदा नेपाल पुलिस क्लबले पनि रिले स्पर्धामा कीर्तिमान कायम गरेको छ ।
नेपालगञ्जस्थित पौडी पोखरीमा भएको प्रतियोगितामा सुदूरपश्चिमका अर्थवले पुरुष ४०० मिटर फ्रिस्टायलमा ४ मिनेट ५६.७६ सेकेन्डको समय निकाल्दै आफ्नै पुरानो कीर्तिमान तोडे । उनले सन् २०२५ मा बनाएको ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । यस स्पर्धामा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले रजत र बागमतीका अरिक कर्माचार्यले कास्य पदक जिते ।
महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले ९ मिनेट ३४.०६ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । यसअघि नेपाल आर्मीकी डुआना लामाको नाममा रहेको १० मिनेट ०६.९२ सेकेन्डको कीर्तिमान उनले तोडेकी हुन् । उक्त स्पर्धामा डुआनाले ९ मिनेट ५९.५४ सेकेन्डमा दूरी पूरा गर्दै रजत र नेपाल पुलिसकी देभान्सी जोशीले कास्य पदक जितिन् ।
त्यस्तै, बागमतीका अभिव प्रधानले पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा १ मिनेट ०१.५१ सेकेन्डको नयाँ कीर्तिमानसहित स्वर्ण जिते । यसअघि प्रारम्भ भण्डारीले सन् २०२५ मा बनाएको १ मिनेट ०३.३९ सेकेन्डको कीर्तिमान अभिवले सुधार गरेका हुन् ।
पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले ८ मिनेट ३२.१३ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । उनीहरूले सन् २०१६ मा कायम भएको ९ मिनेट १७.६८ सेकेन्डको पुरानो कीर्तिमान तोडे ।
बुधबार भएका अन्य स्पर्धामा महिला ५० मिटर बटरफ्लाईमा एनआरएनकी मिखा काया थापा, पुरुष ५० मिटर बटरफ्लाईमा बागमतीका अभिव प्रधान, महिला २०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहरा र पुरुष २०० मिटर फ्रिस्टायलमा नेपाल पुलिसका इर्भिन श्रेष्ठले स्वर्ण पदक जिते ।
त्यसैगरी महिला १०० मिटर ब्याकस्ट्रोकमा बागमतीकी आर्या महर्जनले स्वर्ण जित्दा महिला ४ गुणा १०० मिटर मिड्ले रिले र मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा पनि बागमतीले स्वर्ण पदक हात पार्यो ।
प्रतियोगिताको दोस्रो दिनसम्मको पदक तालिकामा बागमती प्रदेश ९ स्वर्ण, ४ रजत र ६ कास्यसहित १९ पदक जितेर शीर्ष स्थानमा रहेको छ । एनआरएन टोली ६ स्वर्ण, १ रजत र २ कास्यसहित दोस्रो स्थानमा छ भने नेपाल पुलिस क्लब ३ स्वर्ण, ७ रजत र ८ कास्यसहित तेस्रो स्थानमा छ ।
नेपाल आर्मी २ स्वर्ण, ८ रजत र ८ कास्यसहित चौथो, सुदूरपश्चिम १ स्वर्ण र २ रजतसहित पाँचौँ तथा कोशी प्रदेश १ स्वर्णसहित छैटौँ स्थानमा छन् ।
प्रतियोगिताको पहिलो दिन पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाएका थिए । त्यस्तै महिला ४०० मिटर व्यक्तिगत मेड्लेमा एनआरएनकी लिली बोहराले ५ मिनेट १७.०१ सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन् । यससँगै प्रतियोगिताको दोस्रो दिनसम्म राष्ट्रिय कीर्तिमानको सङ्ख्या छ पुगेको छ ।
बुधबार पदक जित्ने खेलाडीलाई ओलम्पियन सुरेन्द्र हमाल र पार्वती थापाले पुरस्कृत गरेका थिए ।

