म्याग्दीमा भीषण हावाहुरीले जलविद्युत् आयोजना, घर र विद्यालयमा क्षति



म्याग्दी,मंसिर १० । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना तथा पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्‍याएको छ ।

मङ्गलबार दिउँसो करिब १२ः१५ बजेदेखि चलेको हावाहुरीले १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनुका साथै स्थानीयका घर र विद्यालयका छाना उडाएको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकका लागि राखिएका १२ वटा टेन्टसमेत उडाएको छ ।

हावाहुरीले भालेबासमा रहेको नेपाली सेनाको सुरक्षा बेसक्याम्पका अधिकृत तथा जवान आवास, भान्सा, मेस, मनोरञ्जन हल, बाथरुम, शौचालय र सेन्ट्री पोस्टमा क्षति पुर्‍याएको छ । भवनमा जडान गरिएका उपकरण, फर्निचर तथा अन्य सामग्रीसमेत उडाएर अन्यत्र पुर्‍याएको आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, आयोजनामा आबद्ध निर्माण कम्पनीको गोदाम तथा कर्मचारी आवास भवनका भित्ता र छाना उडाएको छ । यसबाट विस्फोटक पदार्थ प्रयोग गरी गरिने सुरुङ उत्खननलगायतका निर्माण कार्य प्रभावित हुने आयोजनाले जनाएको छ ।

हावाहुरीले धवलागिरि आधारभूत विद्यालयको कक्षाकोठा भवनको छाना उडाउनुका साथै स्थानीय महलबहादुर गर्बुजाको दुईतले घरको छाना पनि उडाएको छ । नारच्याङ र आसपासका बस्तीमा रहेका अन्य घरगोठमा समेत क्षति पुगेको वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

सुन्तलाका दाना झरेर बगैँचामा समेत क्षति पुगेपछि किसान चिन्तित भएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष फगामीले जानकारी दिनुभयो ।

यसैगरी, अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसर र भुसकेटमा पर्यटकका लागि राखिएका १२ वटा टेन्ट हावाहुरीले उडाएको छ । टेन्ट उडाएपछि पदयात्रामा रहेका पर्यटकलाई रात बिताउन समस्या भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।

घटनापछि नेपाली सेना, प्रहरी, आयोजना प्रतिनिधि र स्थानीयवासीसहितको टोलीले प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो । इलाका प्रहरी कार्यालय दानाले वडाध्यक्षको रोहवरमा क्षतिको विवरणसहित प्रहरी मुचुल्का तयार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका मौसमविद् सुमना रेग्मीका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मङ्गलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम ४.१ मिटरको गतिमा हावा मापन गरिएको थियो ।

यसअघि गत असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको मुस्ताङसँगको सिमानामा निर्माणाधीन बाँधमा क्षति पुर्‍याएको थियो । करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य प्राकृतिक विपद्का कारण प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्