कैलालीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, कञ्चनपुरमा ट्र्याक्टर पल्टिँदा चालकको ज्यान गयो
कैलाली,मंसिर १० । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
कैलालीको गोदावरी नगरपालिका–४ शान्तिटोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा २३ वर्षीय सागर साउँदको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही वडाका साउँदको मृत्यु भएको हो। मोटरसाइकल चालक २४ वर्षीय किशोर साउँद घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यसैगरी, कञ्चनपुरको लालझाडी गाउँपालिका–३ मा बुधबार राति ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा च्यापिएर पुनर्वास नगरपालिका–८ का ३२ वर्षीय चालक अजय रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

