भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी सञ्चालन हुने, अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना



रूपन्देही,मंसिर १० । नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सहमतिले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनमा देखिँदै आएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सहमतिअनुसार काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने प्रक्रिया अघि बढाइनेछ। यसअघि उक्त मार्गबाट भैरहवामा उडान तथा अवतरण गर्दा व्यावहारिक कठिनाइ हुँदै आएको थियो। दुईतर्फी सञ्चालनको व्यवस्था कार्यान्वयनमा आएमा विमान कम्पनीलाई उडानका थप विकल्प उपलब्ध हुने र अन्तरराष्ट्रिय उडान सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।

तर, सहमति कार्यान्वयनका लागि प्राविधिक पक्ष, उडान प्रक्रिया र आवश्यक व्यवस्थापनबारे थप छलफल गर्नुपर्नेछ। त्यसैले सहमति हुँदैमा तत्काल नियमित उडान सुरु भइहाल्ने अवस्था भने नरहेको सरोकारवालाले बताएका छन्।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले हवाई मार्ग दुईतर्फी बनाउने सहमतिलाई भैरहवा र समग्र लुम्बिनी क्षेत्रको आर्थिक विकाससँग जोडेर हेर्नुपर्ने बताउनुभयो। अन्तरराष्ट्रिय उडान विस्तार हुँदा पर्यटन, उद्योग, व्यापार र होटल व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने उहाँको भनाइ छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सागर अधिकारीले हवाई पहुँच विस्तारले लुम्बिनी आउने विदेशी पर्यटकको आवागमन सहज बनाउने बताउनुभयो। भारतका विभिन्न सहरबाट पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी ल्याउन सकिने सम्भावना बढ्ने उहाँले उल्लेख गर्नुभयो। विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन उडान सेवा, पर्यटकीय प्याकेज र यातायात व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उहाँको सुझाव छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले हवाई मार्ग विस्तारलाई लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो। लुम्बिनीलाई भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता बौद्धस्थलसँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ छ।

भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार हुन सके नेपाल आउने पर्यटकलाई लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक स्थलसम्म पुर्‍याउन सहज हुनेछ। यसबाट पर्यटन व्यवसायसँगै होटल, यातायात, कृषि तथा अन्य सेवा क्षेत्रमा रोजगारी र आम्दानीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनीलाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने लक्ष्य राखिएको थियो। तर, नियमित अन्तरराष्ट्रिय उडानको निरन्तरतामा देखिएका चुनौतीका कारण विमानस्थलले अपेक्षित गति लिन सकेको छैन।

नेपाल–भारतबीच भएको पछिल्लो सहमति कार्यान्वयनमा आएमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको उपयोगिता बढ्नुका साथै लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार र समग्र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्