जलवायु परिवर्तनले नाउरको आहारामा असर, हिउँ चितुवा संरक्षणका लागि चरन क्षेत्रको अध्ययन
मुस्ताङ, मंसिर १० । जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तर घट्न थालेपछि हिउँ चितुवा र यसको प्रमुख आहारा प्रजाति नाउरको संरक्षणका लागि चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन सुरु गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोम र लोमान्थाङ कार्यालयले छुट्टाछुट्टै क्षेत्रमा सर्वेक्षण अघि बढाएका हुन्। चरन क्षेत्रको अवस्था, घाँसका प्रजाति, विविधता, जैविक पदार्थको मात्रा तथा पोषण तत्त्वको अवस्था पत्ता लगाउनु अध्ययनको मुख्य उद्देश्य रहेको एक्यापका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीले जानकारी दिनुभयो।
उहाँका अनुसार तल्लो मुस्ताङमा हिउँ चितुवाको अध्ययनका लागि क्यामेरा जडान गरिएका दुई क्षेत्रमा चरन तथा घाँसको अध्ययन भइरहेको छ। वारागुङ मुक्तिक्षेत्रमा १५ र घरपझोङ गाउँपालिकामा नौ गरी २४ वटा खण्ड तथा तिनका ४८ उपखण्डबाट घाँसको नमूना सङ्कलन भइरहेको छ।
वारागुङ मुक्तिक्षेत्रका साङ्ता, फल्याक, लुप्रा, मुक्तिनाथ, कागबेनी र झोङलगायत उच्चलेकका चरन क्षेत्रमा नमूना सङ्कलन गरिएको छ। प्रत्येक खण्डबाट व्यवस्थित रूपमा नमूना लिइएको र एउटा खण्डदेखि अर्को खण्डसम्म कम्तीमा ५०० मिटर दूरी कायम गरिएको थकालीले बताउनुभयो।
यसैगरी, उपल्लो मुस्ताङमा एक्याप लोमान्थाङ कार्यालयले हिउँ चितुवाको अध्ययनका लागि यसअघि क्यामेरा जडान गरिएका तीन क्षेत्रमा चरन तथा घाँसको गुणस्तर मापन गरिरहेको छ। लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १५० वटा खण्डबाट घाँसको नमूना सङ्कलन भइरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार पाँच वर्गकिलोमिटर क्षेत्रफलको जाली संरचनाभित्र पर्ने चरन क्षेत्र समेटेर नमूना सङ्कलन भइरहेको छ। घाँसले ओगटेको क्षेत्रका आधारमा प्रतिखण्ड ४० देखि ५० वटासम्म नमूना सङ्कलन गरिनेछ।
सङ्कलित घाँसको हरियो र सुकेको अवस्थाको तौल मापन गरी प्रयोगशालामा पठाइनेछ। प्रयोगशालाबाट घाँसको पोषण तत्त्व र गुणस्तर परीक्षण भएपछि नाउरका लागि उपलब्ध आहाराको अवस्था तथा गुणस्तर सुधारका उपाय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हिउँ चितुवाको प्रमुख आहारा नाउर भएकाले यसको आहाराको उपलब्धता र गुणस्तरले नाउरको शारीरिक अवस्था, मोटोपन तथा प्रजनन क्षमतामा समेत प्रभाव पार्ने अध्ययनको उद्देश्य रहेको पौडेलले बताउनुभयो। नाउरको सङ्ख्या वृद्धि गर्न चरन क्षेत्र सुधार र गुणस्तरीय घाँसको उपलब्धता बढाउन आवश्यक रहेको उहाँको भनाइ छ।
पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकमा पानीका स्रोत सुक्दै जानु, चरन क्षेत्र साँघुरिँदै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुजस्ता समस्या देखिएका छन्। यसले नाउरको आहारा र बासस्थानमा प्रत्यक्ष असर पारेको छ।
गुणस्तरीय घाँसको अभावमा नाउर आहाराको खोजीमा बस्तीनजिक झर्न थालेपछि स्थानीय किसानका पशुचौपाया हिउँ चितुवाको आक्रमणको जोखिममा पर्ने गरेका छन्। यसले मानव र वन्यजन्तुबीचको द्वन्द्वसमेत बढाएको संरक्षणकर्मीहरूको भनाइ छ।
चरन क्षेत्रमा गुणस्तरीय घाँसको उपलब्धता बढाउनुका साथै चरिचरनलाई व्यवस्थित र सन्तुलित बनाउन सके नाउरको संरक्षणमा सहयोग पुग्नेछ। यसबाट हिउँ चितुवा र यसको आहारा प्रजातिबीचको पारिस्थितिक सन्तुलन कायम राख्नसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।

