प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध नुवाकोटका पत्रकारद्वारा प्रशासन अगाडि धर्ना
नुवाकोट,मंसिर १० । प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारमाथि भइरहेको हस्तक्षेपको विरोधमा नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।
महासंघको घोषित आन्दोलनका कार्यक्रमअनुसार बुधबार शाखाका अध्यक्ष रामहरि गजुरेलको नेतृत्वमा जिल्लामा क्रियाशील पत्रकारहरू ब्यानरसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित धर्ना दिँदै विरोध प्रदर्शन गरेका हुन् । पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेको धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने प्रयासविरुद्ध महासंघले देशव्यापी आन्दोलन सञ्चालन गरिरहेको छ ।
महासंघले प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको रक्षा, पत्रकारको पेसागत सुरक्षा तथा स्वतन्त्र रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्न पाउने वातावरण सुनिश्चित गर्न माग गर्दै आएको छ ।
सामूहिक रूपमा गिरफ्तारी दिन तयार रहेको सन्देशसहित गरिएको धर्नामार्फत नुवाकोटका पत्रकारहरूले पनि प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध ऐक्यबद्धता जनाएका छन् ।

