नवलपरासीमा बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते



नवलपरासी,मंसिर १०। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

गएराति करिब ९ बजे लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आइरहेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दी निवासी ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको राति १०ः३५ बजे उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका १८ वर्षीय अश्विन चौधरी र २० वर्षीय निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ। उनीहरूको मुख, छाती तथा टाउकोमा चोट लागेको छ।

त्यस्तै, विनयी त्रिवेणी–४ का १६ वर्षीय रविन चौधरी, २० वर्षीय रिजन चौधरी र २६ वर्षीय सुमेन्द्र चौधरीको अवस्था मध्यम रहेको छ। अन्य आठ जना घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

गम्भीर तथा मध्यम अवस्थाका घाइतेसहित आठ जनालाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ। अन्य घाइतेको विभिन्न अस्पतालमा उपचार गरिएको छ। केही घाइते उपचारपछि डिस्चार्ज भएका छन्।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्