पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा



झापा, मंसिर ११ । त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । चन्द्रा भण्डारीको निर्णायक गोलमा आर्मीले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस फुटबल क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

झापाको दूधे रङ्गशालामा बिहीबार भएको सेमिफाइनलमा आर्मीले पुलिसलाई १–० गोलले पराजित गर्‍यो । खेलको ५१औँ मिनेटमा चन्द्राले गरेको गोल नै निर्णायक बन्यो । बिमला चौधरीको प्रहार पुलिसकी गोलरक्षक उषा नाथबाट फर्किएपछि प्राप्त अवसरलाई चन्द्राले गोलमा परिणत गरेकी थिइन् ।

खेलको उत्कृष्ट खेलाडी आर्मीकी बिमला विक घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

फाइनलमा आर्मीले शनिबार सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, रक्षक, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्