जंगली हात्तीको आक्रमणबाट ७३ वर्षीय राईको मृत्यु



उदयपुर, मंसिर ११ । उदयपुरको बेलका नगरपालिका–६, सुकुम्वामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

जंगली हात्तीको आक्रमणबाट स्थानीय ७३ वर्षीय रणध्वज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। बिहीबार दिउँसो करिब ३ बजे पसलबाट सामान लिएर घर फर्किने क्रममा हात्तीले आक्रमण गर्दा राईको घटनास्थलमै मृत्यु भएको हो।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र सबडिभिजन वन कार्यालय लालबजारको टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जनाएको छ।

पछिल्लो समय बेलका क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्