नुवाकोट शिवपुरीमा सुमो दुर्घटना, तीन जना घाइते



नुवाकोट, मंसिर ११ – नुवाकोटको शिवपुरी गाउँपालिका–५ मा सुमो गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

दुप्चेश्वर गाउँपालिका–४ बेतिनी हेगोरबाट जिम्नाङ–मानेभञ्ज्याङ हुँदै काठमाडौँ जाँदै गरेको ना १ ज ४३७५ नम्बरको सुमो गाडी शिवपुरी–५ मा अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनामा तीन जना घाइते भएको र उनीहरूको उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको सेराबगरस्थित अस्थायी प्रहरी चौकीले जनाएको छ।

सुमो चालक दुप्चेश्वर गाउँपालिका–५ का आकाश तामाङ रहेको दुप्चेश्वर–५ का वडाध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिनुभयो।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै वडाध्यक्ष तामाङले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। साथै घटनास्थल पुग्न नसकेको बताउँदै उहाँले घाइतेहरूको उद्धार, उपचार तथा एम्बुलेन्स व्यवस्थापनका लागि शिवपुरी–५ का वडाध्यक्ष र प्रहरीसँग निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्