नुवाकोट शिवपुरीमा भएको सुमो दुर्घटनाको घाइतेको अवस्था के छ?
नुवाकोट, मंसिर ११ । नुवाकोटको शिवपुरी गाउँपालिका–५ अलडाँडामा सुमो गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
मानेभञ्ज्याङबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ४३७५ नम्बरको सुमो आज शुक्रबार बिहान करिब १०ः३० बजे गुर्जे–दुप्चेश्वर भित्री सडकखण्डअन्तर्गत अलडाँडामा अनियन्त्रित भई सडकमा पल्टिएको हो।
दुर्घटनामा दुप्चेश्वर गाउँपालिका–४ का चालक २३ वर्षीय आकाश तामाङसहित ११ जना घाइते भएका छन्। घाइतेमध्ये सुस्मिता तामाङ र सात वर्षीय अनिस तामाङको अवस्था मध्यम रहेको छ। उनीहरूको हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको छ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ। दुर्घटनामा दुई वर्षीय बालकसमेत घाइते भएका छन्। घाइतेमध्ये काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ का ३४ वर्षीय बलराम श्रेष्ठ पनि रहेका छन्।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ ट्राफिक प्रहरीसहित चार जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाग्रस्त सुमो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

