विदुरमा निःशुल्क पशु स्वास्थ्य शिविर, १८९ घरधुरीका किसान लाभान्वित



नुवाकोट, मंसिर ११ । विदुर नगरपालिका र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपालको सहकार्यमा विदुर नगरपालिका–७, तुप्चेटारमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट १८९ घरधुरीका २८८ जना किसान प्रत्यक्ष लाभान्वित भएका छन्।

बाढीपछिको अवस्थामा पशुपन्छीको स्वास्थ्य सुधार, उत्पादनशीलता वृद्धि तथा सम्भावित पशुजन्य रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विदुर नगरपालिकाको पशु सेवा शाखाले आयोजना गरेको शिविरमा एफएओ नेपालको प्राविधिक सहयोग रहेको थियो।

शिविरमा गाई, भैँसी, बाख्रा, बंगुर, कुकुर र कुखुरालगायतका ३ हजार ५०० पशुपन्छीमा परजीवी नियन्त्रणसम्बन्धी सेवा प्रदान गरिएको थियो। त्यस्तै, १७० पशुको सामान्य उपचार, प्रजनन स्वास्थ्य समस्या भएका ३६ पशुको परीक्षण तथा ४१ जना किसानलाई पशुपालन, स्वास्थ्य र व्यवस्थापनसम्बन्धी प्राविधिक परामर्श दिइएको थियो।

शिविरमा प्रजनन समस्या, अनियमित ऋतुचक्र, भोक नलाग्ने, पोषण तथा खनिज तत्त्वको कमी, हाइपोक्याल्सेमिया, थुनेलो, घाउचोट, लङ्गडोपन र लम्पी स्किन रोगलगायतका समस्याको पहिचान, उपचार तथा व्यवस्थापन सेवा उपलब्ध गराइएको थियो। पशुपालनमा जैविक सुरक्षालाई ध्यानमा राख्दै किसानलाई १९० जोर बुटसमेत वितरण गरिएको थियो। लाभान्वित किसानमध्ये ४६.७ प्रतिशत महिला रहेका छन्।

कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका डा. केशव खरेल, विदुर नगरपालिकाकी डा. सुजाता अधिकारी, विषयविज्ञ डा. सुदीप कोइराला, एफएओ नेपालका पशुधन तथा एक स्वास्थ्य सल्लाहकार डा. सुरेन्द्र कार्कीलगायत प्राविधिक तथा विज्ञहरूको सहभागिता रहेको थियो।

तुप्चे उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन डा. सुजाता अधिकारीले गर्नुभएको थियो।

शिविरले बाढी प्रभावित क्षेत्रका किसानलाई पशु स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउनुका साथै पशुपन्छीको स्वास्थ्य, उत्पादनशीलता र जैविक सुरक्षाबारे सचेतना बढाएको स्थानीय हाम्रो सहकारी संस्थाका व्यवस्थापक प्रदीप अधिकारीले बताउनुभयो। स्थानीय सरकार र अन्तर्राष्ट्रिय प्राविधिक संस्थाबीचको सहकार्यमा समुदायस्तरमै पशु स्वास्थ्य सेवा विस्तार गर्न सकिने उदाहरणका रूपमा कार्यक्रमलाई लिन सकिने बुद्धिजीवी हरि रिजालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्