रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने



काठमाडौं,मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छवटै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मङ्सिर १४ र १५ गते प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ। अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नुहुनेछ। कार्यक्रममा उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पार्टीका पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुई दिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्य–मान्यता, अनुशासन र राजनीतिक संस्कारका विषयमा प्रशिक्षण दिइनेछ। साथै, पार्टी सङ्गठनको सशक्तीकरण, विस्तार, परिचालन तथा संरचनागत सुदृढीकरणबारे छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका नेतृत्वसँग सङ्गठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको प्रचारप्रसार, पहिचान निर्माण तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले बताउनुभयो। कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्