नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
चितवन, मंसिर १२ । नारायणगढ–मुग्लिङ सडकखण्ड भोलि आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम पुनः सुरु गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।
प्रशासनका अनुसार प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म यस सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ।
यसअघि केही समय सञ्चालन भएर स्थगित भएको नारायणगढ–मुग्लिङ सडक आयोजनाअन्तर्गत तुइनखोला खण्डको पहिरो रोकथाम कार्य पुनः अघि बढाउन लागिएको हो। कामका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सडक बन्द गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए।
यद्यपि, नारायणगढ–मुग्लिङ सडक बन्द रहे पनि काठमाडौंबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने तथा आउने सवारीसाधनको आवागमन भने नियमित रूपमा सञ्चालन हुने प्रशासनले जनाएको छ।

