प्युठानको स्वर्गद्वारी नगरपालिकाले दियो १ सय ९२ महिलालाई सुत्केरी कोसेली



प्युठान।प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिकाले १ सय ९२ जना सुत्केरी महिलालाई कोसेली वितरण गरेको छ ।

स्वर्गद्वारी नगरपालिकाले नगर क्षेत्रका सात वटै स्वास्थ्य संस्थामा पुगेर ‘उपमेयरसँग कोसेली’ कार्यक्रम’अन्तर्गत कोसेली वितरण गरेको हो। स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई झोला संगै हाईजनिक किटर, सेनेटरी प्याड, नेलकटर, तुथपेष्ट, ब्रस, बेबी बक्स, बेबी आयल, डेटोल साबुन, डेटोल झोल गरि ९ प्रकारका सामाग्रीहरु वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताउनुभयो ।

नगरपालिकाको कोचिवाङ, स्वर्गद्धारी,बर्जिवाङ , भिग्री, सारी र सोत्रे स्वास्थ्य संस्थामा पुगेर सुत्केरी महिलालाइ दुई हजार ५ सय बराबरको कोसेली बाँडिएको उहाँले जानकारी दिनुभयो। मंसीर सम्म स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका महिलालाई कोसेली वितरण गरिएको बताउदै उहाँले भन्नुभयो ’ आउँदो असारसम्म अझै तीन सय महिलालाई कोसेली दिने लक्ष छ ।’पोषणमा ध्यान नदिने यहाँका बासिन्दाको हितका लागि सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले बताएको छ । सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि खानपानको शैली परिर्वतन गर्ने कार्यक्रम ल्याइएको उममेयर गोमा रेग्मीले बताउनुभयो। ’नगरक्षेत्रभित्रका गरिब,विपन्न, पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई सघाउन यो कार्यक्रम सञ्चालन गरेका हौँ।’रेग्मीले भन्नुभयो’यस्का लागि नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा २० लाख रुपिँया बजेट विनियोजन गरेको छ । शाखा प्रमुख केसीले अब गर्भ जाँच गराउँदा पनि महिलालाई कोसेली दिईने जानकारी गराउनुभयो ।

पहिलो पटक गर्भ जाँच गराउँदा(४ महिना) एक केजी चना, नेलकटर, दोस्रो पटक गर्भ जाँच गराउँदा (६ महिनामा) तुथपेष्ट र तुथब्रुस, तेस्रो पटक गर्भ जाँच गराउँदा (८ महिनामा) साबुन र काईयो , चौथो पटक गर्भ जाँच गराउँदा (महिना) मा एक केजी नुन र टर्चलाईन प्रदान गरिने केसीले बताउनुभयो ।
त्यस्तै महिला सुत्केरी भईसकेपछि एक क्यारेट अण्डा, आयूवेदिक, सतावणी चुडा, दशमुल तेल र यातायात खर्च एक हजार रुपिँया समेत प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख केसीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्