प्रधानमन्त्री शाहको भारत भ्रमणमा नयाँ हवाई रुटबारे सहमति हुने सम्भावना



काठमाडौं,मंसिर ६ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेश मार्ग (एयर रुट) का विषयमा महत्वपूर्ण सहमति हुने सम्भावना देखिएको छ। झण्डै डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आए पनि निष्कर्षमा पुग्न नसकेको यस विषयमा पछिल्लो समय भारतीय पक्ष सकारात्मक देखिएपछि प्रधानमन्त्रीको भ्रमणलाई निर्णायक अवसरका रूपमा हेरिएको छ।

नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरबाट अन्तर्राष्ट्रिय विमानका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ। पछिल्लो द्विपक्षीय छलफलमा भारत महेन्द्रनगरबाट ३९ हजार फिटको उचाइमा विमान प्रवेश गर्न दिन तथा भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउन सकारात्मक देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव जयनारायण आचार्यका अनुसार भारतीय पक्षसँग नयाँ हवाई प्रवेश बिन्दुका विषयमा समग्र प्याकेजमै छलफल भइरहेको छ। नेपालले तत्काल सम्भव हुने तीनवटा प्रवेश मार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमशः वार्तामार्फत टुङ्ग्याउन प्रस्ताव गरेको छ। तर, भारतले छुट्टाछुट्टै सहमतिभन्दा समग्र प्याकेजमै समझदारी गर्नुपर्नेमा जोड दिएको छ।

महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध भएमा पश्चिम क्षेत्रबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानले वैकल्पिक मार्ग पाउनेछन्। यसबाट हाल बाराको सिमरा प्रवेश बिन्दुमाथि रहेको निर्भरता घट्नुका साथै पश्चिमी क्षेत्रका विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।

त्यस्तै, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न भारतीय हवाई क्षेत्रसँग जोडिएको सहज प्रवेश तथा बहिर्गमन मार्ग महत्वपूर्ण मानिएको छ। हाल उपयुक्त हवाई मार्गको अभावका कारण विमानस्थलको व्यावसायिक सञ्चालनमा चुनौती देखिएको छ। जनकपुरबाट पनि उपयुक्त हवाई मार्ग उपलब्ध भएमा क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्न सहयोग पुग्ने अपेक्षा छ।

नेपालमा निर्माण भएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडान विस्तार हुन सकेको छैन। थप हवाई मार्ग उपलब्ध भएमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई क्षेत्रीय विमानस्थलमा उडान सञ्चालन गर्न सहज हुने र पर्यटन, व्यापार तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यद्यपि, प्रस्तावित हवाई मार्गको प्रवेश बिन्दु, उडानको उचाइ र सञ्चालन प्रक्रियाबारे अन्तिम प्राविधिक सहमति हुन बाँकी छ। विमानको प्रकार, उडान दिशा, हवाई यातायात व्यवस्थापन, मौसम र सुरक्षासम्बन्धी पक्षलाई समेत ध्यानमा राखेर मार्ग निर्धारण गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

नेपालले नयाँ हवाई मार्गको विषय विसं २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणदेखि नै निरन्तर उठाउँदै आएको हो। त्यसबेला पश्चिमतर्फबाट थप हवाई मार्ग उपलब्ध गराउने विषयमा सहमति गर्दै दुवै देशका अधिकारीलाई छ महिनाभित्र प्रक्रिया टुङ्ग्याउन भनिएको थियो। तर, त्यसयता विभिन्न उच्चस्तरीय भ्रमण र द्विपक्षीय बैठकमा छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन।

विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा पनि हवाई मार्गको विषय प्रमुख एजेन्डाका रूपमा उठेको थियो। त्यसबेला भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने विषयमा भारत सकारात्मक रहेको बताउनुभएको थियो।

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै हवाई मार्गका विषयमा सहमति जुटाउने उद्देश्यले नेपालले कूटनीतिक तथा प्राविधिक तहमा छलफल तीव्र पारेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेलले पनि भारत भ्रमणका क्रममा भारतीय अधिकारी तथा सरोकारवालासँग थप हवाई मार्ग र पर्यटन सहकार्य विस्तारबारे छलफल गर्नुभएको थियो।

नयाँ हवाई प्रवेश मार्गसम्बन्धी विषयमा दुई देशबीच सहमति भएमा नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुका साथै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्